: +०५७-५२६८३०, ९८५५०-६८२२७

विचार


राजनीतिः झुठको खेति, नाफाको व्यापार

विचार 360 पटक पढिएको


राजनीतिः झुठको खेति, नाफाको व्यापार
सुदीप ढकाल राजनीतिक द्वन्द्वमा मारिने एउटा आत्मा स्वर्ग पुगेछ र भगवानलाई सोधेछ, ‘मान्छेले मान्छेलाई किन मार्छन् प्रभु ?’ भगवानः स्वार्थपूर्तिका लागि । आत्माः अनि मलाई मार्नेले के नै पायो र ? भगवानः सत्ता । तिमी जस्तालाई मार्ने सांसद, मन्त्री, प्रधानमन्त्री भैसके । कत्ति सम्पत्ति कमाई सके तिमीलाई थाहै छैन । आत्माः उनीहरुलाई कानुन लाग्दैन प्रभु ? उसले प्रश्न गर्न छाडेन । भगवानः कानुन त कमजोरलाई लाग्छ । बलियालाई के को कानुन ? कानुन पर्खाल जस्तै हो । पर्खाल भत्काउने साहस राख्नेको हाई हाई हुन्छ, कानुन लाग्दैन ।

ज्यान मुद्दाका कति आरोपी सांसद, मन्त्री भए । खुंखार अपराधी चुनाव लड्दै छन्, जितेका छन् । तिमी कानुनको कुरा गर्छौ भनेर भगवानले भन्नासाथ उ झल्याँस्स व्यूँझियो । यसरी विगतका राजनीतिक परिवर्तनका लागि ज्यान वलिदान दिने, घाईते तथा टुहुरा सबै झस्की रहन्छन् बेला–बेला ।

राजनीति सबै नीतिहरुको मियो हो । राजनीतिले सामाजिक, आर्थिक लगायत अन्य नीति बनाउने हो । मुलुकमा थिति बनाउने हो । तर राजनीति जनतामा भ्रम छर्ने उद्यम बनेको छ । आश्वासन बाँड्ने उद्योग बनेको छ । दलहरुका घोषणापत्र पढ्दा र नेताका भाषण सुन्दा लाग्छ योजनाहरु केवल भ्रम र झुटको पुलिन्दा हुन् । घोषणापत्रमा १० हजार मेगावाट विजुली निकाल्ने, मेट्रो रेल कुदाउने, शतप्रतिशत रोजगारी दिलाउने, सडक, यातायात, गाउँ–गाउँमा वाईफाईदेखि हावाबाट बिजुलीसम्मका प्रतिवद्धताहरु उल्लेखित छन् । तर विडम्वना उत्पादनको थालनी भएको शताब्दी नाघीसक्दा पनि एक हजार मेगावाट विद्युत उत्पादन गर्न सकिएको छैन । भूकम्प गएको अढाई वर्ष बितिसक्दा पनि पीडितहरु खुल्ला आकाशमुनी बस्न बाध्य छन् । सिमा क्षेत्रमा नेपालीहरु दिनदहाडै कुटिन्छन्, बलात्कृत हुन्छन् । नेताका ८८ किलो सुन नाकाबाट पास हुन्छन्, जनताका नाकका फुली समातिन्छन् । चुनाव नजिकिँदै जाँदा आश्वासनको वर्षात हुँदैछ । सुन्दा लाग्छ की भोली बिहान उठ्दा मुलुकै बदलिसकेको हुनेछ । जनतालाई सुरक्षाको ग्यारेन्टी गर्दै भाषण सकेर फर्कँदा उनकै गाडीलाई लक्षित गरी बम बारुद बर्सन्छ । नेता सुरक्षित हुन्छन्, सुरक्षाकर्मी सामान्य घाईते हुन्छन् । अनि भन्न मन लाग्छ, यो राजनीति हैन, लाजनीति हो ।

संघीयतामा कर्मचारी समायोजनका नाममा मात्रै मुलुकले आधा खर्ब खर्चनुपर्ने अवस्था छ । यस सम्बन्धमा चिन्ता कसैलाई छैन । सबै आफ्नो स्वार्थपूर्ति मै दगुरिरहेका छन् । अधिकांश मानिस यहाँ सूर्यमूखी फुल झैं भएको पाईन्छ । सूर्य शक्तिको स्रोत भएरै त होला, जो कोही सत्ता, शक्ति कै पछि दौडेको पाईन्छ । प्रत्येक पटक सत्ता परिवर्तन सूर्यमूखी फुल झैं फर्लक्क फर्केको देखिन्छ । त्यो पनि अर्काको इशारामा । मौका हेरी बाढीमा बगेको मुढा जस्तो यता–उता सत्ता र शक्ति कै वरपर घुमी रहने । सत्ताधारी स्वार्थको इशारामा नाच्ने र जनता भगवानभरोसामा बाँच्ने नियती नै छ । राजनीति नाफाको व्यापार बनेको छ । त्यो पनि बिना लगानीको । सत्ता प्राप्तीको म्युजिकल चेयरमा आफ्नो स्वाभिमान बिर्सिए । पुर्खाको रगत र पसिना बिर्सिए, वीरता बिर्सिए । सुस्ता बिर्सिए, नालापानी, कोशी, गण्डकी, महाकाली बिर्सिए । दार्जलिङ बिर्सिए । राजनीतिक व्यापार भयो । राजनीतिकर्मी नाफामा गए । घाटा व्यहोर्यो त केवल देशले, निमुखा जनताले ।

राष्ट्रिय आवश्यकतालाई भन्दा व्यक्तिगत स्वार्थलाई महत्वमा राखिन्छ । स्थानीय निकायको निर्वाचन सम्पन्न भई जनप्रतिनिधी चुनिसकेको अवस्थामा अझै राज्यले कोरेको खाका अनुरुप काम गर्न÷गराउन सरकार आफैं अलमलमा छ । कर्मचारी व्यवस्थापन दिनानुदिन चुनौतीपूर्ण बन्दैछ । चोरी, डकैती बढ्दो छ । मिसावट, कालोबजारी गर्न, मनपरी फि असुलेर निजी विद्यालय सञ्चालन गर्न, निजी अस्पताल खोल्न, नक्कली डाक्टर बन्न, कार्टेलिङ÷सेण्डिकेट चलाउन पाउनुपर्छ भनेर बुलन्द आवाज निस्किन्छ र हाम्रो राजनीति त्यस्तालाई संरक्षण गर्न तिर अभिप्रेरित हुन्छ । भै राखेकै छ । ईमान, जमान हुनेले परिश्रमले कमाउँछ । उसलाई बाँच्नै मुस्किल छ । जसले बदमासी गर्छ, ठगी गर्छ, उसले राजनीतिक दल र नेतालाई चन्दा दिन्छ तसर्थ यहाँ नगद छाडेर उधारो तिर लाग्ने कोही भेटिँदैन । समानुपातिक सांसदले बुझाएको भनी सुनिने मोेटो रकमले पद सिर्जनाको अर्थ र राजनीति बिना लगानीको नाफाको व्यापार कसरी भयो भन्ने प्रष्ट हुन्छ ।

सत्ताको दौडमा सफल हुन अनेकन चाल रचिन्छ । कानुन निर्माण उनैले गर्छन् । न उनलाई सम्पत्ति शुद्धीकरण लाग्छ, न कानुन नै । लोकतन्त्रमा जनता सर्वोपरी हुन्छन् । देश जनताको हो र राजनीति जनताकै लागि गरिने हो । तर यहाँ नेता मालिक हुन्छन्, जनता नोकर । राज्यको ढुकुटी पैतृक सम्पति ठानिन्छ, मिलिजुली बण्डा गर्ने । भागबण्डा नमिल्दा मात्र खिचातानी सतहमा सुनिने हुन, मिल्दा सबै एकजुट । सुन्दा तितो लाग्छ तर यथार्थ यही हो ।

राजनीतिक दल, नेता तथा कार्यकर्ताहरुले आफ्नो विवेक व्यक्तिगत स्वार्थ भन्दा मुलुकको समृद्धितर्फ प्रयोग गरेका भए आज नेपाल साँच्चैको समृद्ध बनिसक्ने थियो । अथाह सम्भावना बोक्दा बोक्दै पनि यो मुलुक निर्माण हुन नसक्नुको कारण नै स्वार्थ निहित राजनीति हो । मुलुक लाई सधैं संक्रमणकालमा राखी पद तथा कुर्सीको मोल–मोलाई गर्ने परिपाटीको अन्त्य हुनैपर्छ । विदेशिएका युवा फर्किएर यहिँ रमाउन सक्ने वातावरण सिर्जना गरिनुपर्दछ । रोजगारी खोज्न भन्दा सतही राजनीतितर्फ उत्पे्ररित देखिन्छन् अहिलेका पुस्ता । कारण, बिना लगानीको नाफाको व्यापार नै हो । न लगानी डुब्ने डर, न भविष्यको चिन्ता नै । तर व्यक्तिगत स्वार्थ छाडी मुलुकको समृद्धि चाहने हो भने पनि राजनीति नाफा कै व्यापार हो । व्यक्तिगत नभई राष्ट्रिय नाफा । लगानी सहितको नाफा । लगानी सद्विचार र सद्विवेकको हुन्छ । लाभान्वित मुलुक हुन्छ, लाभान्वित हुन्छन् दुरदराजसम्मका जनता ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     398
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     23
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970668 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top