+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
विचार

नेता, कार्यकर्ताले धैर्यता नगुमाओस्



विचार   4 पटक पढिएको   सुरेश श्रेष्ठ     

प्रदेश सभा र प्रतिनिधि सभाको आसन्न निर्वाचनमा होमिएका राजनीतिक दलका नेता, कार्यकर्ता यतिबेला प्रचार प्रसारमा व्यस्त छन् । मकवानपुरको ४ वटा प्रदेश क्षेत्र र २ वटा प्रतिनिधि सभा क्षेत्रका उम्मेद्वारहरु प्रचारप्रसारमा व्यस्त छन् । देशभर लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित छ । मकवानपुरमा पनि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन नै मुख्य प्रतिस्पर्धी हुन् । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रस्तुत भएको जनमतका आधारमा राजनीतिक दलहरुले आआफ्नो कमिकमजोरी र सवल पक्षका आधारमा चुनावी रणनीति बनाइरहेका छन् । मतदाता पनि स्थानीय तहको मत परिणामका आधारमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो मतलाई सन्तुलित बनाउने प्रयास गर्ने चरणमा छन् ।

स्थानीय तहको निर्वाचनमा मतदान गरेका सचेत मतदाता यतिबेला आफ्नो मतले उपयुक्त मतपरिणाम सार्वजनिक होस् भन्नेमा थप सचेत छन् । निर्वाचनमा थ्रेस होल्डको व्यवस्थाले दलहरुलाई एकीकृत हुन प्रेरित गरेको छ । यसले आगामी दिनमा नेपालमा राजनीतिक दलको संख्यालाई घटाउने छ । ठूला राजनीतिक दलहरुलाई थप बलियो बनाएको छ । यसबाट राजनीतिक दलसँगै राजनीतिक प्रवृत्तिहरु सुध्रँदै जाने अपेक्षा मतदातामा छ ।

निर्वाचनमा होमिएका राजनीतिक दल, उम्मेद्वार, नेता, कार्यकर्ता र समर्थकहरु सम्भव भएसम्म आफ्नो पक्षमा जनमत निर्माण गर्ने र जनताबाट अनुमोदित हुने ध्यानमा छन् । निर्वाचनमा मतदातालाई मतदानका लागि आग्रह गर्नेदेखि विभिन्न प्रलोभन देखाएर मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयत्न राजनीतिक दल र उम्मेदवारहरुले गरिरहेका छन् । जनमतका लागि मतदातालाई आग्रह गर्नु उम्मेदवार, राजनीतिक दलका नेता, कार्यकर्ताको प्रयास स्वभाविक हो । जनमत आफ्नो पक्षमा पार्ने योजनाभित्र कतिपय राजनीतिक दल, उम्मेदवार, नेता, कार्यकर्ताको अस्वभाविक र गलत प्रयत्नहरु पनि देखिन सक्छन् । यस्ता प्रयत्नहरुले मतदातालाई त्रसित र निराश पनि बनाउन सक्छ । तत्कालका लागि नतिजामा प्रभाव पार्न सक्ने देखिए पनि यस्ता प्रयत्न दीर्घकालमा प्रत्युत्पादक हुनेछन् ।

अहिले राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेद्वारहरु मुख्यतः आफ्ना प्रतिवद्ध र सक्रिय कार्यकर्ताको उपस्थितिमा चोक–चोक, टोल–टोल, गाउँ–गाउँ प्रचार अभियानमा छन् । दोस्रो तथा अन्तिम चरणमा राजनीतिक दल, उम्मेद्वार, नेता, कार्यकर्ताले आम सभाको आयोजना गर्नेछन् । जुनबेला दलहरुले एक किसिमको शक्तिप्रदर्शनको प्रयत्न गर्नेछन् । चुनावी प्रचारको यो प्रक्रिया स्वभाविक हो । यसले उम्मेद्वारको प्रचार गर्नेछ । जनमतका लागि राजनीतिक दल र तिनका उम्मेदवारले मतदातालाई आर्थिक प्रलोभन देखाउने स्थितिप्रति आम सचेतता छ । प्रतिस्पर्धी दलका उम्मेद्वारहरु आर्थिक लगायत अन्य प्रलोभन देखाएर मतदातालाई प्रभावित पार्ने प्रयत्न पनि गर्ने र प्रतिस्पर्धीप्रति अनेकौं आरोप लगाउने दोहोरो चरित्र निभाइरहेका हुन्छन् ।

करिब २ महिनाको निर्वाचनको प्रक्रियाबाट निर्वाचित हुन सके ४ वर्षे राजनीतिक अवसर रहने, सांसद हुँदै सत्तासम्म पुग्न पाए सकारात्मक दृष्टिकोणका साथ जनताको सेवा गर्दै लोकप्रिय हुने र गलत दृष्टिकोण राख्नेका लागि अनुचित लाभको अवसर पनि रहने भएकोले निर्वाचनमा कडा प्रतिस्पर्धा हुनु स्वभाविक देखिन्छ । तर, गलतलाई गलत र सहीलाई सही भन्न सक्ने जनमत तयार भइसकेकोले आवधिक निर्वाचनको सुनिश्चितता भए राजनीतिक व्यक्तित्व र प्रवृत्तिहरुमा क्रमशः सुधार आउने निश्चित छ ।

अहिले मतदाताले मुख्यतः उम्मेदवारहरुको व्यक्तित्व र उम्मेदवार सम्वद्ध राजनीतिक दलको प्रवृत्तिलाई नजिकबाट नियालिरहेका छन् । मतदाताहरु असल जनप्रतिनिधि चयन गर्नुपर्नेमा सचेत छन् । निर्वाचनको प्रक्रियामा उम्मेदवारहरुको प्रचारप्रसारको कार्यलाई उत्तिकै नजिकबाट सुनिरहेका, हेरिरहेका, पढिरहेका मतदाताहरु उम्मेदवारका आफ्ना योजना र उपलब्धीभन्दा पनि प्रतिस्पर्धीमाथि आरोप–प्रत्यारोप सुनेर, पढेर, हेरेर दिक्क छन् । उम्मेद्वारहरुका अस्वभाविक प्रतिवद्धता र दावी पनि मतदाताका लागि उचित लागिरहेको छैन । सांसद भएर एकजना राजनीतिक व्यक्तिले के गर्न सक्छन् ? यसअघि के के गरे ? के कस्ता सार्वजनिक चासो र सरोकारका विषयमा के कस्ता चासो व्यक्त गरे ? भनेर सचेत नागरिक समूहले हेरिरहेकै छन् । जसले निर्वाचनको नतिजामा निर्णायक भूमिका निर्वाह गर्नेछन् ।

राजनीतिक दलका नेता, कार्यकर्ताले असभ्य तरिकाबाट आपसमा आरोप–प्रत्यारोप गर्नुका साथै अस्वभाविक, असम्भव योजना सुनाइरहेका छन् । निर्वाचनअघि पदमा रहँदा सम्भव काम नगर्ने नेताले निर्वाचनका बेला सुनाउने अस्वभाविक योजना भावी दिनमा सम्भव हुनेछन् भनेर मतदाताले पक्कै पत्याउने छैनन् । अधिकांश उम्मेद्वारहरु सीमित मतदातासँग नाम र शारीरिक हाउभाउले मात्रै परिचित छन् । समाजमा उल्लेखनीय कामबाट परिचित उम्मेद्वारको खडेरी छ । आवधिक निर्वाचनको सुनिश्चितता भएको भए राजनीतिक दलका नेता, कार्यकर्ताले जनताको सेवामा उल्लेखनीय काम गर्ने थिए । यसो भन्दैमा आवधिक निर्वाचन नहुँदा पनि जनताको सेवा राजनीतिकर्मी सक्रिय हुनु पर्ने थिएन भन्न खोजिएको होइन । राजनीतिलाई जनसेवाको अवसरको रुपमा भन्दा पनि व्यक्तिगत र सीमित घेरामा रहेर समूहको लाभका लागि राज्यको स्रोतसाधन दुरुपयोग गर्ने उपयुक्त माध्यम मान्नु मुख्य समस्या हो । जसले बेला–बेलामा हुने निर्वाचनमा उम्मेदवार हुनेहरुलाई समस्या बनाउने गर्दछ ।

राजनीतिमा सधैं सबैखाले सम्भावना रहन्छ भन्ने गरिन्छ । जसलाई पछिल्लो समय नेकपा माओवादी केन्द्रले पुष्टि गरिदिएको छ । जनसेवाका लागि हो भने त यस्ता घटना स्वभाविक र सान्दर्भिक मान्न सकिन्छ । यदि राजनीतिक दल र तिनका नेतृत्वका लागि मात्रै लाभका लागि मात्रै यस्ता सम्भावनाको तर्क गर्नु उचित होइन । अहिले पनि निर्वाचनमा जनमतलाई आकर्षिक गर्ने बहानामा दलका नेता, कार्यकर्ताले राजनीतिलाई फोहोरी खेलको रुपमा पुनःपरिभाषित गर्ने प्रयत्न भइरहेको छ । राजनीतिक दलका नेता, कार्यकर्ताले एकअर्कालाई आरोप–प्रत्यारोप गरिरहेका छन् । झट्ट हुन्दा मतदाताहरु निर्वाचनको प्रक्रियाबाटै त्रसित छन् । आखिर एकआपसमा आरोप–प्रत्यारोप मात्रै गर्ने गरी निर्वाचन किन गर्नु ? भन्ने मनस्थिति आम मतदातामा विकासित भएको छ । निर्वाचनको समयमा कतिपय स्थानमा सांघातिक आक्रमण र हत्या समेत हुने गरेका छन् । के जनमतका लागि जनताको ज्यान नै जानु ठीक हो त ?

उम्मेद्वारहरुले स्वभाविक अभिव्यक्ति र योजना प्रस्तुत गरेर जनतासामु मत माग्नु उचित हुनेछ । प्रमुख दलका उम्मेद्वारहरुले राजनीतिक दलका संगठित सदस्य र तिनको प्रभाव क्षेत्रबाट प्राप्त हुने निश्चित मतका भागिदार हुन्छन् । स्थानीय चुनावको परिणामलाई नै हेर्ने हो भने पनि व्यक्ति भन्दा संगठित सदस्य संख्याका आधारमा मत प्रभावित भएको देखिन्छ । यस्तोमा उम्मेद्वारले यथार्थपरक भएर वास्तविक कुरा गर्ने हो भने तटस्ट रहने मतलाई आकर्षित गर्न सक्ने थियो । साथै भोलि निर्वाचित हुँदा पनि ती काम सहजै पूरा गरेर जनविश्वास जित्न सक्ने थियो । जसले निर्वाचनको प्रक्रियालाई पनि स्वभाविक सावित गर्ने थियो ।

राजनीतिक दलका नेतृत्वले अस्वभाविक र आक्रामक भएर आरोप–प्रत्यारोप गर्दै निर्वाचनको समयलाई भड्किलो बन्नबाट बचाउनु जरुरी छ । मतदानको दिन जति नजिकिँदै जान्छ, उत्ति नै उम्मेदवार र राजनीतिक दलहरु अधैर्य बन्ने खतरा रहन्छ । अन्तिम समयसम्म धैर्य भएर निर्वाचनको प्रक्रियालाई सम्पन्न गर्ने र जनमतका लागि यो नै अन्तिम अवसर हो भन्ने नबुझी हरेक पटक जिम्मेवार र वास्तविक चरित्र प्रस्तुत गर्नुपर्छ । जसले लोकप्रिय जनमतमा आधारित लोकतान्त्रिक व्यवस्थाको वास्तविक अभ्यास सम्भव हुनेछ भने राजनीति मात्रै नभई समग्र समाज र मुलुकको सुधारलाई आत्मसात गर्ने आधार तयार हुनेछ । जनताले यसपटक बुझेका छन् कि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनपछि मुलुकले पछिल्लो राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकासको बाटोलाई आत्मसात गर्नेछ । हामी पछिल्लो राजनीतिक परिवर्तनलाई स्थापित गर्ने मात्रै चासो व्यक्त गरिरहेका छौं । तर, हाम्रो समाजको समग्र विकास र स्थायित्वका लागि राजनीतिक प्रवृत्तिहरु पनि सुध्रनु जरुरी छ । जसलाई धैर्य राजनीतिक मानसिकताले मात्रै पूरा गर्नेछ ।






  • मनहरीको आयव्यय ४० करोड ६० लाख

    मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
    स्थानीय तह
    205     समाज संवाददाता
  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
    अर्थ / व्यापार
    8     समाज संवाददाता
  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।
    अपराध
    11     समाज संवाददाता
  • मतदाताले छाप परिवर्तन गर्न सिक्नु पर्छः रञ्जु दर्शना

    हेटौंडाः विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले अब मतदाताले छाप परिर्वतन गर्न सिक्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा विवेकशिल साझा पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा दर्शनाले यस्तो बताउनुभएको हो ।
    राजनीति
    999     समाज संवाददाता
  • चौतारीको ध्यानाकर्षण

    समाज संवाददाता हेटौंडा, ८ असोजः रेडियो धादिङ्को भवन भत्काइएको प्रति प्रेस चौतारी मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धादिङ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा बिहीबार राती स्थानीय प्रशासन तथा जिल्ला वन कार्यालयको संयुक्त टोलीले डोजर लगाएर भवन भत्काउने कार्य गरेको भन्दै विरोध जनाएको हो ।
    समाज
    99    
  • कृषि नीतिमा परिवर्तनको खाँचो

    नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।
    सम्पादकीय
    99     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top